abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

रत्नपार्क–सूर्यविनायक सडकमा किन पोतियो रातो ?
रत्नपार्क–सूर्यविनायक सडकमा किन पोतियो रातो ?

काठमाडौँ — सडक विभागले काठमाडौं उपत्यकाको रत्नपार्क–सूर्यविनायक सडक खण्डमा ठाउँ–ठाउँमा रातो रङ पोतेर अलग्गै लेन मार्क गरेको छ । विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने योजनाअनुरूप द्रुत बस सेवा सञ्चालनका लागि सो सडक खण्डमा ठाउँ–ठाउँमा रातो पोतेर अलग्गै लेन मार्क गरेको हो ।

त्यसरी रातो लेन मार्क गरिएको सो सडकमा बुधबारदेखि द्रूत बस सेवा सुरू गरिएको छ । शान्तिबाटिकामा आयोजित एक समारोहका बीच बधुबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका द्रूत बस सेवाको शुभारम्भ गरेका छन् । अब रत्नपार्क–सूर्यविनायक सडक खण्डमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन गरिनेछ ।

सो खण्डमा प्रत्येक ५ मिनेटको अन्तरमा बसहरू छुट्नेछन् भने ४० सिटभन्दा बढी क्षमताका बसहरूलाई यो सेवामा समावेश गरिएको छ । त्यसरी सञ्चालन भएका बसहरूले यो खण्डमा यात्रुलाई तोकिएका ठाउँमा ओराल्ने र चढाउनेबाहेक रोकेर राख्ने छैनन् भने सडकमा ती बसहरूलाई एम्बुलेन्ससरहको सुविधा दिइएको छ । यतिसम्म कि ती बसहरू सडक बत्तीमा समेत रोक्नुपर्नेछैन ।

काठमाडौंको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दुरी १३ किमि छ । तर अहिले सो खण्डमा सार्वजनिक यातायातबाट यात्रा गर्न दुई घण्टासम्म लाग्छ । द्रूत बस सेवा सञ्चालन भएपछि भने यो सडक पार गर्न ४५ मिनेटमात्रै लाग्नेछ ।

मन्त्री ज्वालाले सार्वजनिक यातायातको साधन चढेर पनि समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने धारणाको विकास गराउन र उपत्यकामा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो सेवा प्रारम्भ गरिएको बताए । ‘रत्नपार्कदेखि सूर्यविनायकको दुरी १३ किमिमात्रै हो । तर अहिले यहाँ दुई घण्टा समय लाग्दो रहेछ,’ उनले भने, ‘तर द्रूत बस सेवामा तत्काल यो समयलाई ४५ मिनेटमा झार्न सकिएला । सबै व्यवस्थित भएपछि यसलाई आधा घण्टामा ल्याउन सकिन्छ भन्ने लागेको छ ।’मन्त्री ज्वालाले सरकारले अहिले यो सडक खण्डमा नमुनाका रुपमा यस्तो सेवा सुरु गरेको र यसलाई उपत्यकाका अन्य सडकहरूमा पनि विस्तार गरिने बताए । ‘यो सेवा यतिमै सीमित हुँदैन, यसलाई उपत्यकाका अन्य सडकहरूमा पनि विस्तार गरिनेछ,’ उनले भने, ‘जुन उत्साहले यो कार्यक्रमको थालनी भएको छ, यसको निरन्तरतामा पनि हामी सबैको ध्यान पुग्नुपर्ने आवश्यक छ ।’

सो सडक खण्डमा बुधबार संविधान दिवसको अवसर पारेर सेवा शुभारम्भका लागि दुईवटा बसहरू सञ्चालन गरिएको छ । तर बिहीबारदेखि भने नियमित सेवा प्रारम्भ हुने यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले बताए । ‘द्रूत सेवामा सञ्चालन हुने बसले जहाँ चाह्यो त्यही बस रोक्न पाउँदैनन् । तोकिएका ठाउँहरूमा मात्रै बस रोक्न, यात्रुलाई चढाउन र ओराल्न पाइनेछ,’ उनले भने, ‘सार्वजनिक यातायातका साधनप्रतिको विश्वास बढाएर भविष्यमा राजधानीका सडकमा ठूला बसहरू सञ्चालन गर्ने र निजी सवारीसाधनको प्रयोगलाई निरुत्साहित गर्ने हाम्रो उद्देश्य हो ।’

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण बन्दै गएकोमा त्यसलाई सहजीकरण गर्न द्रूत बस सेवा सहयोगी हुने अपेक्षा गरिएको बताए । ‘उपत्यकामा ट्राफिक व्यवस्थापन दिनानुदिन असहज बनिरहेको छ । त्यसैले हामीले मास ट्रान्सपोर्टेसनको अवधारणामा काम गर्नैपर्छ । यो त्यसैको सुरुआत हो,’ उनले भने, ‘यसले कम्तीमा सबैलाई अबको आवश्यकता र प्राथमिकता भनेको मास ट्रान्सपोर्टेसन नै हो भन्ने सन्देश प्रवाह होस् भन्ने हाम्रो चाहना हो । तर यो बस र्‍यापिड ट्रान्जिट (बीआरटी) सेवा भने होइन ।’

सेवा शुभारम्भका अवसरमा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडकमा सवारीको कोलाहललाई शान्त पार्ने सरकारको यो प्रयास उदाहरणीय भएको बताए । ‘देशमा भएका सवारी साधनमध्ये आधाभन्दा धेरै त काठमाडौंमै छन् । काठमाडौं खाल्डोमा सवारीसाधनको कोलाहल छ । यस्तोमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुको अर्को उपाय नै छैन,’ उनले भने, ‘यो विषय हामीले विगतदेखि निरन्तर उठाउदै आएको विषय पनि हो । अहिले सरकारले यो सुरुवात गरेको छ । यो सराहनीय छ ।’

सम्बन्धित प्रकाशनहरु