abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

राष्ट्रिय एकता खल्बल्याउने कुरा सकारात्मक हुन सक्दैन : अध्यक्ष ओली
राष्ट्रिय एकता खल्बल्याउने कुरा सकारात्मक हुन सक्दैन : अध्यक्ष ओली

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्ने बताउँदै राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन नसक्ने बताएका छन् । उनले जनताबीचको एकता कमजोर गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने पनि बताएका छन् ।

संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ‌ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । राजनीतिक परिवर्तन र संविधानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने उनको भनाइ थियो ।'कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्,' उनले भने, 'त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।'

पूर्वप्रधानमन्त्री ओलीले विभाजनकारी प्रवृति ल्याएर जनतामा फाटो पुर्‍याउने र राष्ट्रिय एकतामा खलल ल्याउन खोजिएको बताए । राजनीतिक, साम्प्रदायिक, क्षेत्रीय मुद्दाका रूपमा समाजमा खलल पुर्‍याउने कार्यले राष्ट्रिय एकतालाई कमजोर पार्ने उनको भनाइ थियो । सरकारले त्यस्ता गतिविधि अन्त्य गर्न कदम चाल्नुपर्ने उनको भनाइ थियो । सरकारले त्यस्ता गतिविधिप्रति सार्वजनिक रूपमा एउटा र काममा अर्कै गर्ने कुरा गलत भएको उनले बताए ।

नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने ओलीको भनाइ थियो । उनले संविधान दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताए । 'राष्ट्रिय एकताका साथ सिंगो देश एकजुट भएर राष्ट्रका लागि सही बाटोमा अगाडि बढौं भन्ने दिवसले आग्रह गर्दछ,' उनले भने ।

सम्बन्धित प्रकाशनहरु