न्युयोर्क — संयुक्त राष्ट्र संघ (यूएन) को ७८औं महासभामा भाग लिन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउद द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन् । प्रधानमन्त्री दाहालले मंगलबार श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिघेसँग भेटवार्ता गरे ।
यूएन मुख्यालयमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगलाई बढाउने विषयमा कुराकानी भएको न्युर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
साथै, दाहालले त्यसअघि यूएनकी उच्च प्रतिनिधि रबाब फतिमासँग पनि भेटवार्ता गरिसकेका छन् । नेपाल अहिले कम विकसित मुलुकहरू (एलडीसी) को अध्यक्ष राष्ट्र हो । एलडीसीका अध्यक्ष दाहाललाई यूएनकी एलडीसी तथा भूपरिवेष्ठित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले भेट गरेकी हुन् । उक्त अवसरमा दुवैले सामूहिक चासोका विभिन्न विषय तथा अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री दाहालले न्युयोर्क आउनेबित्तिकै यूएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरिसकेका छन् । उक्त अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाका बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास र आपसी सहकार्य तथा साझेदारीलगायतको विषयमा छलफल गरेका थिए । साथै, दाहालले मंगलबार राति अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्र र सरकार प्रमुखहरुलाई आयोजना गरेको रात्रिभोजमा सहभागी पनि भए ।
परराष्ट्रमन्त्री साउदले 'कम्प्रिहेन्सिभ न्युक्लियर टेस्ट ब्यान ट्रिटी अर्गनाइजेसन'का कार्यकारी सचिव रोबर्ट फ्लोयडसँग भेटवार्ता गरे । मुख्यालयमै भएको भेटवार्तामा परराष्ट्रमन्त्री साउदले आणविक निशस्त्रीकरणप्रति नेपालको दृढ प्रतिबद्धता जनाए । साथै, उनले उक्त संस्थाको काममा सहयोग गर्ने पनि जानकारी दिए ।
परराष्ट्रमन्त्री साउदले यूएनका डिपार्टमेन्ट अफ अपरेसन सपोटका उपमहासचिव अतुल खरेसँग पनि साइडलाइनमा भेटवार्ता गरे । उक्त अव;रमा नेपाल र यूएनबीच शान्ति स्थापनाको क्षेत्रमा सहयोग सुदृढ पार्ने विषयमा छलफल भएको नेपाली नियोगले जनाएको छ । खरेले केही समयअघि नेपालको भ्रमण पनि गरेका थिए ।परराष्ट्रमन्त्री साउदले यसअघि अर्का उपमहासचिव जान–पियरो लाक्रांलाई पनि भेटेका थिए । लाक्रांले राष्ट्रसंघीय शान्ति मिसन हेर्छन् । भेटमा शान्ति सेनाको पठाउने, तालिम, सुरक्षा तथा अन्य शान्ति स्थापनामा नेपाल र यूएनको साझेदारीको विषयमा कुराकानी भएको थियो ।
परराष्ट्रमन्त्री साउदले फिनल्यान्डका विदेशमन्त्री भिले टाभियोलाई पनि भेटेका थिए । उक्त अवसरमा द्विपक्षीय हित र चासोको विषयमा कुराकानी भएको थियो । दुवैले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने कुराकानी भएको नियोगले जनाएको छ । साउदले यूएनकी अर्की उपमहासचिव रोसेमरी डिकार्लोसँग भेटवार्ता गरेका थिए । साथै, साउदले त्यस अघि रोमानियाकी विदेश मन्त्री लुमिनिटा टेओडोरा ओडोबेस्कु र सर्बियाका उपप्रधानमन्त्री इभिका डाचिचसँग पनि साइडलाइन भेटवार्ता गरेका थिए ।