abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

शिक्षक आन्दोलनले ट्राफिक अवस्था अस्तव्यस्त
शिक्षक आन्दोलनले ट्राफिक अवस्था अस्तव्यस्त

काठमाडौँ — शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण बुधबार मध्याह्नदेखि उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । माइतीघर मण्डलदेखि सुरु भएको आन्दोलनले सडकको दुवैतिर ढाकेर बानेश्वरतिर अघि बढेको छ‚ जसले माइतीघर र बानेश्वर-तीनकुने-कोटेश्वरमा ट्राफिक अवस्था अस्तव्यस्त बनेको ट्राफिक प्रहरीेले जनाएको छ । 

प्रहरीका अनुसार प्रदर्शनमा देशभरबाट करिब १५ हजार शिक्षक सहभागी भएका छन् । ट्राफिक जाम बढेपछि वैकल्पिक मार्ग प्रयोग गर्दा भित्री गल्ली र करिडोरमा समेत ट्राफिक अस्तव्यस्त बनेको छ ।

ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारीसाधन त्यही रोकेको छ भने कतिलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाएको छ । थापाथली, भद्रकाली, माइतीघर चोक, तीनकुने, कोटेश्वरलगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

माइतीघर-तीनकुने सडकमा सवारी आवागमन अवरुद्ध भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो अपनाएर ओहोरदोहोर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

शिक्षकले '१० वर्षमा आवाधिक बढुवाको ग्यारेन्टी गर', 'राहत र उमावि दरबन्दी स्वीकृत गर' लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलन गरेको हो ।

सम्बन्धित प्रकाशनहरु